सामाजिक फीड-
जनकपुरधाम, फागुन ५ गते ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मकवानपुरको भीमफेदी कारागार तोडेर फरार भएका एक कैदी बारामा चोरी गर्दागर्दै पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय प्रसौनी, बाराबाट खटिएको टोलीले प्रसौनी गाउँपालिका वडा नं. १ बस्ने २६ वर्षीय विशाल मुखियालाई फागुन ४ गते पक्राउ गरेको हो।
प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गरिरहेको अवस्थामा मुखिया फेला परेका थिए। मुखियालाई यसअघि मकवानपुर जिल्ला अदालतले किर्ते र डाका मुद्दामा ५ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सोही सजाय भुक्तानका लागि भीमफेदी कारागारमा रहेका उनी कारागार तोडेर फरार भएका थिए।
लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका मुखिया पुनः चोरी कार्यमा संलग्न भएको अवस्थामा फेला परेपछि अहिले बारा जिल्ला अदालतबाट चोरी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले फरार कैदीले पुनः अपराध गरेको देखिएकाले थप कानुनी प्रक्रिया अगाडि बढाइएको बताए ।