सामाजिक फीड-
जनकपुरधाम, फागुन ४ गते ।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई उडानमार्फत जोड्ने पहल भइरहेको बताएका छन्।
मिथिला मध्यमा परिक्रमाको अवसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश सरकारले जनकपुर–अयोध्या सम्बन्धलाई प्रगाढ बनाउने योजना अघि सारेको उल्लेख गरे।
मुख्यमन्त्री यादवका अनुसार, यस पहलले मधेस प्रदेशको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्नेछ। सीता सर्किट र रामायण सर्किटलाई जोड्न सकिएमा जनकपुर मात्र नभई सिंगो मधेश प्रदेशको विकास हुने र अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय पहिचान बन्ने विश्वास उनले व्यक्त गरे।
योजना मूर्त रूप दिन छिट्टै भारत भ्रमण गरी सम्बन्धित निकायहरूसँग समन्वय गरी कामलाई तीब्रता दिने तयारी भइरहेको उनले बताए। यसका साथै जनकपुर विमानस्थलको स्तरोन्नति र विस्तारका लागि संघीय सरकारसँग समन्वय भइरहेको र विमानस्थल विस्तारपछि अयोध्याबाट दैनिक ५ सयभन्दा बढी भारतीय दर्शनार्थीहरू माता सीताको दर्शन गर्न आउन सक्ने अपेक्षा व्यक्त गरे।