Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ४ गते ।

सर्लाहीमा गोली हानी हत्या गरिएका जिल्ला पूर्वाधार कार्यालय सर्लाहीमा कार्यरत्त सब इन्जिनियर प्रमोद कुमार यादव हिजो मात्रै बुवाको काजक्रिया सकाएर मलंगवा फर्केको खुलेको छ । आइतबार बेलुक मलंगवा १० मा ३६ वर्षीय यादवलाई गोली प्रहार गरी हत्या गरिएको थियो ।

सिराहाको सुखीपुर नगरपालिका ९ बैशााखा घर रहेका यादव हिजो मात्र गाउँबाट फर्केका थिए । सर्लाहीका प्रहरी प्रमुख योगेन्द्रकुमार खडकाका अनुसार यादव बुवा बितेपछि काम सकेर आइतबार दिउँसो दुई–तीन बजेतिर मलङ्गवा आएका थिए ।

स्थानीयका अनुसार मोटरसाइकल चढेर आएका दुई जना मानिसले यादवलाई कोठाबाहिर बोलाएर नजिकैबाट गोली प्रहार गरेका हुन् । यादवको छातीमा गोली प्रहार भएको छ ।
घटनास्थलबाट गोलीको एक थान खोका बराबद भएको प्रहरी उपरीक्षक खड्काले बताए ।

गोली लागेर घरको बरण्डामा ढलेका यादवलाई प्रादेशिक अस्पताल मलंगवा लगेकोमा अस्पतालमै मृत्यु भएपछि अहिले उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमै रहेको छ । यादवमाथि गोली प्रहार हुनुको कारण खुल्न नसकेको प्रहरीले जनाएका छन् ।
यादव श्रीमती र दुई वर्षकी छोरीसँगै मलंगवामा कार्यालय नजिकै डेरा लिएर बस्दै आएका थिए ।

यादवमाथि गोली प्रहार भएपछि मलंगवा क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी अभियुक्तको खोजी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन् । तर बिहानसम्म घटनामा संलग्न कोही व्यक्ति पक्राउ परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *