सामाजिक फीड-
जनकपुरधाम, फागुन ४ गते ।
निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार तथा राजनीतिक दललाई फागुन ४ देखि १८ गतेसम्म मात्र चुनावी प्रचारप्रसार गर्न अनुमति दिएको जनाएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा, घरदैलो कार्यक्रम र सञ्चारमाध्यममार्फत गरिने प्रचार सोही अवधिभित्र सीमित रहने आयोगले स्पष्ट पारेको छ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रचारका क्रममा कसैलाई धम्की दिन, दबाब सिर्जना गर्न, आर्थिक प्रलोभन देखाउन वा सामाजिक बहिष्कार गर्न नपाइने बताएका छन्। हातहतियार प्रदर्शन, चरित्रहत्या, डर-त्रास फैलाउने तथा मताधिकार प्रयोगमा अवरोध पुर्याउने गतिविधि पनि पूर्ण रूपमा निषेध गरिएको उनले जानकारी दिए।
आचारसंहिता अनुसार सीमित आकारको पर्चा वितरणबाहेक पोस्टर, ब्यानर, भित्तेलेखन वा सार्वजनिक स्थानमा प्रचार सामग्री टाँस्न पाइने छैन। मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म सबै प्रकारका प्रचार गतिविधि पूर्ण रूपमा बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी सरकारी सवारीसाधन, कर्मचारी वा सार्वजनिक स्रोतसाधनको प्रयोग गर्न नपाइने तथा प्रचारमा प्रयोग हुने सवारी साधन निर्वाचन अधिकृतको अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने आयोगले जनाएको छ। मतदाता परिचयपत्र कब्जा गर्ने वा निर्वाचन सामग्रीको दुरुपयोग गर्ने कार्य कानुनविपरीत हुने चेतावनी पनि आयोगले दिएको छ।