सामाजिक फीड-
जनकपुरधाम, फागुन ४ गते ।
धार्मिक आस्थाको उत्सवको रूपमा लिइने मिथिला मध्यमा परिक्रमा आजदेखि सुरु भएको छ। मिथिलाको “महाकुम्भ” भनेर चिनिने यो परिक्रमा आज धनुषाको मिथिला बिहारी नगरपालिका-कचुरीस्थित मठबाट भगवानको डोला निस्केसँगै प्रारम्भ भएको हो।
१३३ किलोमिटरको यो पदयात्रा १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिकस्थलहरूको परिक्रमा गर्नेछ । १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा नेपाल र भारतका विभिन्न स्थानमा श्रद्धालुहरू पुग्ने गर्छन्।
जनकपुरधामस्थित अग्निकुण्डबाट किशोरीजीको डोला तथा मिथिला बिहारीबाट भगवान रामको डोला निकाल्ने परम्परा छ । यी दुवै डोलासहित १५ दिनसम्म मिथिलाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलहरूको परिक्रमा गरिन्छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको यो यात्रामा नेपाल र भारतका हजारौँ श्रद्धालु सहभागी हुने गर्दछन्।
आज डोला सहित परिक्रमा यात्री जनकपुरधामको हनुमाननगर पुगेर विश्राम गर्नेछ । हनुमाननगरमा विश्राम पश्चात् मंगलबार भारतको कल्याणेश्वरतर्फ प्रस्थान गरिनेछ। जनकपुरधामस्थित हनुमानगढीबाट डोला निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात मानिन्छ।
१५ दिने परिक्रमा अवधिमा नेपालतर्फ १०७ किलोमिटर र भारततर्फ २६ किलोमिटर भूभागको यात्रा तय गरिन्छ। यस क्रममा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर र गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर तथा औरही लगायतका धार्मिक स्थलहरूमा पुगेर पूजाआजा गरिन्छ।
त्यसपछि पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थल हुँदै १४ औँ दिनमा परिक्रमा टोली जनकपुरधाम फर्कनेछ। त्यसको भोलिपल्ट जनकपुरधाममा अन्तरगृह परिक्रमा सम्पन्न गरेसँगै मिथिला मध्यमा परिक्रमा विधिवत् समापन हुनेछ। मिथिला क्षेत्रमा अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाउने परम्परा रही आएको छ, जसले यस धार्मिक यात्रालाई सांस्कृतिक उत्सवसँग समेत जोड्ने काम गर्छ।
यस वर्ष फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण परिक्रमा केही प्रभावित हुने देखिएको छ। नेपाल र भारतका साधुसन्त तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहने यस यात्रामा निर्वाचनअघि सीमा नाका बन्द हुने सम्भावनाले आवतजावतमा असर पर्न सक्ने बताइएको छ।