सामाजिक फीड-
जनकपुरधाम, फागुन ४ गते ।
रौतहटको चन्द्रनिगाहपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट खटिएको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिका का विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
कार्यालयका प्रमुख डीएसपी रुपा लाबुङका अनुसार गोप्य सूचनाको आधारमा गरिएको खानतलासीका क्रममा पहिलो चरणमा चन्द्रपुर-१ बागमतीका ३२ वर्षीय तुलबहादुर लामा पक्राउ परेका थिए। उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएपछि प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाएको थियो।
त्यसपछि चन्द्रपुर–४ गणेशचोकस्थित एक घरमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई पनि नियन्त्रणमा लिइयो। उनीहरूको कोठाबाट ब्राउन सुगर तौल्न प्रयोग हुने डिजिटल मेसिन र प्याकिङका लागि प्रयोग गरिने प्लास्टिकका टुक्रा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको प्रारम्भिक बयानका आधारमा चन्द्रपुर-१ बाट २९ वर्षीय प्रशान्त तामाङलाई समेत समातिएको छ। उनको कोठाबाट २४० मिलिग्राम ब्राउन सुगर फेला परेको छ। चारै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी लाबुङले जानकारी दिएकी छन्।