सामाजिक फीड-
जनकपुरधाम, फागुन १ गते
रौतहट प्रहरीले नक्कली नेपाली हजार दरका १४ थान नोटसहित दुईजना पक्राउ गरेको छ ।
बिहीबार अपराह्न करिब ३ बजे वृन्दावन नगरपालिका १ विश्रामपुर बजारस्थित विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले नक्कली नोट प्रयोग गर्न खोजेपछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।
प्रहरीले वृन्दावन २ विश्रामपुरका ३२ वर्षीय दिनेश पटेल र सर्लाही बरहथवा नगरपालिका १ का ३० वर्षीय विवेक प्रसाद यादवलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालका अनुसार बीआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका उनीहरू पसल सञ्चालकलाई दिएको नोट शंकास्पद देखिएपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खटिएको प्रहरी टोलीले जाँच गर्दा दिनेशको गोजीबाट हजार दरका १२ थान र विवेकले मोबाइल कभरभित्र लुकाएर राखेको हजार दरका २ थान गरी जम्मा १४ थान नक्कली नोट बरामद गरिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।