सामाजिक फीड-
जनकपुरधाम, माघ २९ गते
पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि बंगलादेशमा पहिलोपटक आमनिर्वाचन भइरहेको छ। नयाँ सरकार गठनका लागि सुरु भएको मतदान अपराह्न साढे ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
बीबीसीका अनुसार १२ करोडभन्दा बढी मतदाता मतदान प्रक्रियामा सहभागी हुँदै छन्। सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि हसिनालाई सत्ताबाट हटाइएको थियो।
हसिना देश छाडेपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो। आन्दोलनका क्रममा करिब १ हजार ४ सय प्रदर्शनकारीको ज्यान गएको थियो। गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरुद्धको अपराध मुद्दामा पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो।
उनको पार्टी अवामी लिगलाई यसपटकको निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको छ। निर्वाचनमा मुख्य प्रतिस्पर्धा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र इस्लामी दल जमात-ए-इस्लामीबीच भइरहेको छ। जमात-ए-इस्लामीले विद्यार्थी आन्दोलनबाट उदाएको एक नयाँ दलसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको छ।