सामाजिक फीड-
जनकपुरधाम, माघ २८ गते
मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिमा नैतिकता तथा सदाचारको विकास गर्न जरुरी रहेको बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोगको बर्दिबास कार्यालयले जनकपुरधाममा आयोजना गरेको समारोहमा बोल्दै प्रदेश प्रमुख कर्णले अख्तियारको दुरुपयोग रोक्नका आयोगले खेलेको भूमिकाको सराहना गर्दै मुलुकमा सुशासन तथा समृद्धिका लागि भ्रष्टाचारको नियन्त्रण आवश्यक रहेको बताए ।
यस्तै, मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले समृद्धि र विकासको पक्षमा काम गर्न चाहे पनि सानो सानो विषयमा आयोगले गर्ने गरेको पत्राचारका कारण कर्मचारी काम गर्नबाट डराउने गरेको गुणासो गरे ।
समारोहमा बोल्दै मधेश प्रदेशका प्रमुख सचिव कमल प्रसाद भट्टराईले सुशासनका लागि कर्मचारीको व्यवस्थापन, सेवा प्रवाह तथा खरिदमा विशेष ध्यान दिन आग्रह गरे ।
अख्तियारको वार्षिकोत्सवको अवसरमा आयोगका बर्दिबास कार्यालयका नायव सुब्बा सुरेश कुमार बराल, शाखा अधिकृत अरुण कुमार बराल तथा प्रहरी निरीक्षक सञ्जीव सुवाललाई अख्तियार सेवा पुरस्कार प्रदान गरिएको छ ।
आयोगको बर्दिबास कार्यालयमा गत २ हजार ५ सय २५ उजुरी परेकोमा १ हजार ७ सय १३ फर्छ्यौट हुन बाँकी रहेको जनाइएको छ ।