Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २७  गते ।

सिरहा कारागारबाट पेस्तोल, गोली र नगदसहित कारागारका नाइके पक्राउ परेपछि उत्पन्न विवाद अझै मत्थर हुन सकेको छैन । २० घन्टाभन्दा बढी समय बितिसक्दा पनि कारागारको अवस्था शान्त हुन सकेको छैन ।
गोप्य सूचनाका आधारमा सोमबार बिहान करिब ११ बजे गरिएको विशेष सर्च अपरेसनका क्रममा कारागारका नाइके इन्द्रजित यादवको कोठाबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र १ लाख २० हजार रुपैयाँ नगद बरामद गरिएको थियो ।

त्यसपछि यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ ।
त्यसको विरोधमा सोमबार दिनभर र रातभर कारागारको छतमाथि बसेर कैदीहरूले नाराबाजी गरेका छन् ।
सोमबार राति करिब ९ बजे प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहरा प्रयोग गरेको थियो । कैदीहरूले पनि प्रतिकारमा मोटर चलाएर प्रहरीतर्फ पानी फ्याँकेका थिए । जस कारण कारागार भित्र केहीबेर तनाव सिर्जना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रमेश बहादुर पालले कैदीहरूले नाइके यादवलाई कारागार फिर्ता ल्याउन माग गर्दै होहल्ला र नाराबाजी मंगलबार बिहानसम्म पनि जारी राखेको बताए ।
पालका अनुसार कारागारको तनावको विषयमा छलफल गर्न आज बिहान जिल्ला सुरक्षा समितिको बैठक बोलाइएको छ ।
कारागारको सुरक्षालाई मध्यनजर गर्दै भित्र र बाहिर करिब १५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्ला प्रहरीको हिरासतमा राखिएको कैदीमा कर्तव्य ज्यान, डाका, अपहरण, ज्यान मार्ने उद्योग तथा लागुऔषधसम्बन्धी गम्भीर आपराधिक मुद्दामा संलग्न रहेका छन् ।
१५० जना कैदी राख्ने क्षमता रहेको कारागारमा हाल ४३६ जना कैदीबन्दी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *