सामाजिक फीड-
जनकपुरधाम, माघ २६ गते ।
मिथिला माध्यमिकी परिक्रमालाई लक्षित गर्दै महोत्तरी प्रशासनले विभिन्न पडावस्थलमा मासु तथा मदिराजन्य पदार्थको बिकी वितरण र सेवनमा रोक लगाएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिथिला माध्यमिकी परिक्रमालाई मर्यादित, शान्तिपूर्ण र धार्मिक वातावरणमा सम्पन्न गराउने उद्देश्यले परिक्रमाको रुट तथा पडावस्थल आसपासका क्षेत्रमा मासु तथा मदिराजन्य पदार्थको बिक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो ।
मिथिला माध्यमिकी परिक्रमा यात्री पुग्ने दिन परिक्रमाको रुट तथा पडावस्थल वरपर करिब एक किलोमिटर क्षेत्रभित्र मासु तथा मदिराको कारोबारमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले जानकारी दिएका छन् ।
पोखरेलका अनुसार फागुन ७ र ८ गते मटिहानी नगरपालिका क्षेत्र, फागुन ८ र ९ गते जलेश्वर नगरपालिका ४ सुगा, वडा नं। ६ खबोली तथा वडा नं। ७ र ८ क्षेत्र, फागुन ९ र १० गते महोत्तरी गाउँपालिका क्षेत्र, फागुन १० र ११ गते बलवा नगरपालिका ३ तथा धबकुन्ड क्षेत्र र फागुन ११ र १२ गते लोहरपट्टी नगरपालिका तथा भंगहा नगरपालिकाको कञ्चनवन पडावस्थल आसपासमा मासु तथा मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।
यस्तै, परिक्रमा मार्गमा पर्ने मासु पसलहरूलाई तोकिएको समयसम्म अनिवार्य रूपमा पसल बन्द राख्न निर्देशन दिइएको छ । निर्देशनको उल्लंघन गरेको र पाइएमा कानूनअनुसार कडा कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
१५ दिने परिक्रमा अन्तर्गत जनकपुरधामस्थित हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चन वन, क्षीरेश्वरनाथ ९पर्वता०, धनुषाको धनुषाधाम, सतोषर ९मिथिलेश्वरनाथ०, औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किने चलन छ । त्यसपछि जनकपुरधामस्थित पाँच कोशे अन्तरगृह परिक्रमा गर्दै यो परिक्रमा सम्पन्न गरिन्छ ।
परिक्रमा सकेको भोलि पल्ट मिथिला क्षेत्रमा होली मनाउने परम्परा छ ।