Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ २५ गते ।

नेपाली कम्युनिस्ट पार्टी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश संकटको अवस्थामा रहेकाले सही शक्ति छान्न मतदातालाई आग्रह गरेका छन् ।

महोत्तरीको बर्दिबासमा आइतबार आयोजित पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा उनले मतदाताले अवको फैसला सुशासन र विकासको पक्षमा हुनुपर्ने बताए ।

‘अब फैसला सुशासन र विकासको पक्षमा हुनुपर्छ। कतिपय शक्ति ‘नयाँ छौं, मत दिनुस्’ भन्दै जनतामाझ आइरहेका छन् । तर प्रश्न नयाँ र पुरानोको होइन, प्रश्न ठिक र बेठिकको हो’ उनले भने ।

अहिलेको समय सही, ठीक र राम्रो पक्षमा निर्णय गर्ने ऐतिहासिक घडी भएको उल्लेख गरे ।

नेपाल विदेशी शक्तिहरूको कृडास्थल  बन्दै गएको बताउँदै राष्ट्रिय स्वाधीनता जोगाउनु आजको प्रमुख आवश्यकता भएको उनको भनाइ छ ।

‘विदेशी शक्तिहरूको क्रीडास्थल बन्ने अवस्थाबाट देशलाई जोगाउनुपर्छ । राष्ट्रिय स्वाधीनतालाई मजबुत बनाउँदै विदेशी हस्तक्षेपलाई परास्त गर्नु आजको मुख्य कार्यभार हो,’ श्रेष्ठले भने ।

उनले संविधान र लोकतन्त्रको रक्षा गर्ने अग्रगामी शक्तिहरूलाई समर्थन गर्नुपर्नेमा पनि जोड दिए ।

  सामाजिक र आर्थिक रूपान्तरण तथा समृद्धिलाई राजनीतिक संघर्षको मूल उद्देश्यका रूपमा प्रस्तुत गर्दै सुशासन, समृद्धि र सामाजिक रुपान्तरणको पक्षमा निरन्तर बल लगाइरहेका शक्तिहरूलाई समर्थन गर्न आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *