सामाजिक फीड-
जनकपुरधाम, माघ २५ गते ।
सप्तरीको रुपनी गाउँपालिका–६ दुधैला खोलामा शनिबार भएको शंकास्पद वस्तुको विस्फोटमा परी घाइते चार जना बालकको सफल शल्यक्रिया गरिएको छ। घाइते बालकहरूको शरीरबाट शल्यक्रिया गरी छर्रा निकालिएको हो।
दुधैला खोलामा बनभोज खान गएका बेला शंकास्पद विस्फोटक पदार्थ विस्फोट हुँदा उनीहरूको शरीरमा छर्रा लागेको थियो। घाइते बालकहरूको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा सफल शल्यक्रिया गरी खुट्टा तथा शरीरका विभिन्न भागबाट छर्रा निकालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
शंकास्पद वस्तु विस्फोट हुँदा स्थानीय साजन आले मगरका ११ वर्षीय छोरा साहास मगर, मनोज थापा मगरका ९ वर्षीय छोरा प्राशिस थापा मगर, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर थापा मगर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज विक घाइते भएको प्रहरीले जनाएको छ।
शनिबार बिहान घरनजिकैको वनमा बनभोज खान गएका उनीहरू बिहान साढे ११ बजे अचानक भएको विस्फोटमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। पिकनिक गएका बालकहरू दाउरा खोज्न जाँदा शंकास्पद वस्तु भेटेपछि लिएर आएका र उक्त विस्फोटक पदार्थ चुल्हो नजिक राख्दा अचानक विस्फोट हुँदा उनीहरू घाइते भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले बताए ।
उनका अनुसार घटनास्थलनजिकै एक महिनाअघि नेपाली सेना अभ्यास गरेर फर्किएको खुलेको छ ।
खोला छेउकै सामुदायिक वन नेपाली सेना बरख गण राजविराजको अभ्यासस्थल हो । त्यहाँस्थित सेनाले बेला(बेला विस्फोटक अभ्यास गर्दै आएको छ। पछिल्लो पटक एक महिनाअघि अभ्यास गरेर त्यहाँबाट सेना फर्किएको थियो ।
शनिबार सामुदायिक वननजिकै दुधैला खोलामा वनभोज खान पुगेका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने खेलौना दाउरासँगै जम्मा गरेर राखेका थिए । चुल्होनजिक राखिएको उक्त खेलौना अचानक विस्फोट भएको थियो ।
घाइतेलाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारपछि रेफर गरेर छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको छ । उनीहरुको उपचार भइरहेको छ । घाइतेमध्ये साहस र प्रशिसको खुट्टा र शरीरका विभिन्न भागमा र कविर र सुरजको शरीरको विभिन्न भागमा छर्रा लागेको हो ।
नेपाली सेना बरख गण राजविराजका प्रमुख सेनानी सोबितबहादुर चन्दले घटना भएको स्थलमा पुगेर अनुसन्धान गरिरहेको बताए ।