सामाजिक फीड-
जनकपुरधाम, माघ २२ गते ।
रौतहटमा गाडीको ठक्करबाट एक चार वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा अल्फा खातुन नाम गरेकी बालिका रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रसाद बस्यालले जानकारी दिएका छन्।
उनका अनुसार बिहीबार दिउँसो करिब २:३० बजे इशनाथ नगरपालिका-३ अन्तर्गतको मठिया टोलमा उक्त दुर्घटना भएको हो। रास्वपाको स्टिकर टाँसिएको बा १५ च ४२४४ नम्बरको कारले बालिकालाई ठक्कर दिएको थियो।
दुर्घटनापछि बालिकालाई सोही कारमार्फत गौरस्थित सिटी अस्पताल पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि प्रादेशिक अस्पताल लगिएको भए पनि दिउँसो पौने ३ बजे अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बालिकालाई अस्पताल पुर्याएपछि कार चालक फरार भएका छन्। हाल चालकको खोजी भइरहेको र सवारीसाधन भने प्रहरीले नियन्त्रणमा लिएको डीएसपी बस्यालले बताए।