सामाजिक फीड-
जनकपुरधाम, माघ २२ गते ।
मधेस प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनामा ५६ जनाको हत्या भएको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार आर्थिक वर्ष २०८२-०८३ मा प्रदेशका ८ जिल्लामा ५६ जनाको हत्या भएको हो । जसमा २६ जना पुरुष, १८ जना महिला, ९ जना बालक र ३ जना बालिका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार सप्तरीमा सबैभन्दा बढी हत्याको घटना भएको हो । यहाँ १३ जनाको हत्या भएको छ जसमा ५ जना पुरुष, ६ जना महिला तथा एक-एक जना बालक र बालिका छन् ।
यस्तै, धनुषा र सिरहामा ९-९ जनाको हत्या भएको छ । धनुषामा ४ जना महिला, २ जना पुरुष, २ जना बालक र १ जना बालिकाको हत्या भएको छ भने सिरहामा ४ जना पुरुष, ३ जना महिला तथा एक–एक जना बालक र बालिकाको हत्या भएको छ ।
रौतहटमा ८ जना, पर्सामा ६ जना, महोत्तरी र सर्लाहीमा ४-४ जनाको हत्या भएको छ ।
बारामा ३ जनाको हत्या भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
हत्याको मुख्य कारण पारिवारिक विवाद, आपसी रिसइबी, सामाजिक सञ्जाल, लागुऔषध प्रयोगलगायत रहेको अनुसन्धान अधिकृतहरु बताउँछन् । मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८१-०८२ मा ९९ जनाको हत्या भएको थियो । यस्तै, आव २०८०–०८१ मा १२७ जनाको हत्या भएको थियो भने आव २०७९–०८० मा १०९ जनाको हत्या भएको प्रदेश प्रहरीको तथ्यांक छ ।