सामाजिक फीड-
जनकपुरधाम, माघ २१ गते ।
सप्तरी कारागार कार्यालय राजविराजमा प्रतिबन्धित लागूऔषध र मोबाइल फेला परेको छ ।
राजविराज नगरपालिका ६ स्थित रहेको कारागार कार्यालयको ‘ए’ ब्लकमा रहेका कैदीहरुलाई चेकजाँचका क्रममा लागूऔषध गाँजा र मोबाइल बरामद भएको हो ।
चेकजाँचको क्रममा कैदी सुमित मण्डल र सुरज राउतको साथबाट लागूऔषध र मोबाइल फेला परेपछि नियन्त्रणमा लिइएको कारागार प्रशासनले जनाएको छ ।
कारागार कार्यालय सप्तरीका शाखा अधिकृत रूपक मण्डल र प्रहरी नायब निरीक्षक भाग्य नारायण साहको कमान्डमा तथा ‘ए’ ब्लकका चौकीदार मो। जोहर अन्सारीको उपस्थितिमा चेकजाँच गरिएको थियो ।
सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा २०८० माघ १३ गतेदेखि दुई वर्ष कैद सजाय भोगिरहेका महादेवा गाउँपालिका २ का ३० वर्षीय सुमित मण्डको साथबाट प्लास्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा एक खिल्ली तथा एक थान चिलिम बरामद गरिएको छ ।
यस्तै, हातहतियार खरखजना मुद्दामा २०८० पुस ०४ गतेदेखि चार वर्ष कैद सजाय भोगिरहेका राजविराज नगरपालिका ६ का २९ वर्षीय सुरज राउतको साथबाट किप्याड लाभा कम्पनीको सिमसहितको एक थान मोबाइल बरामद गरिएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।