सामाजिक फीड-
जनकपुरधाम, माघ २० गते ।
भारत र संयुक्त राज्य अमेरिकाबीच ऐतिहासिक व्यापार सम्झौता भएको छ। उक्त सम्झौताअनुसार अमेरिकाले भारतीय उत्पादनहरूमा लाग्दै आएको ‘रेसिप्रोकल ट्यारिफ’ २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्ताका क्रममा यस सम्झौताबारे औपचारिक घोषणा गरिएको हो। राष्ट्रपति ट्रम्पले ‘मेड इन इन्डिया’ उत्पादनहरूमा आयात शुल्क घटाएर १८ प्रतिशत कायम गर्ने निर्णय लिएको जानकारी दिएका छन्।
सम्झौताअनुसार भारतले पनि अमेरिकी उत्पादनहरूमा लाग्ने कर तथा अन्य व्यापारिक अवरोधहरू क्रमशः हटाउँदै शून्यमा झार्ने दिशामा कदम चाल्ने प्रतिबद्धता जनाएको छ। साथै भारतले अमेरिका बाट ऊर्जा, प्रविधि, कृषि, कोइला लगायतका क्षेत्रमा ५०० अर्ब अमेरिकी डलरभन्दा बढीको सामान खरिद गर्ने सहमति जनाएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले यो सम्झौताले ‘मेड इन इन्डिया’ अभियानलाई थप मजबुत बनाउने र दुवै देशमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। त्यस्तै, भारतीय गृहमन्त्री अमित शाहले यसलाई भारत-अमेरिका सम्बन्धका लागि ऐतिहासिक दिनको संज्ञा दिएका छन्।
यद्यपि विपक्षी दल कांग्रेसले सम्झौताप्रति असन्तुष्टि जनाएको छ। कांग्रेस नेता जयराम रमेशले वासिङ्टनको दबाबमा परेर सरकारले यो सम्झौता गरेको आरोप लगाउँदै आलोचना गरेका छन्।