Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, माघ १९ गते ।

लामो समयदेखि बेवारिसे अवस्थामा भेटिएका शबहरुको पहिचान नखुल्दा पोष्टमार्टम हुन नसकेपछि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल गम्भीर समस्यामा परेको छ । बेवारिसे अवस्थामा भेटिएका आठवटा शव अस्पतालको पोष्टमार्टम कक्षमा थन्किएर राखिँदा विद्युत अवरुद्ध भएको बेला दुर्गन्ध फैलिन थालेको छ ।

सप्तरीका विभिन्न स्थानमा फेला परेका ती बेवारिसे शव चार महिनादेखि अस्पतालको पोष्टमार्टम कक्षमा राखिएका छन् । अस्पतालको मेडिकल रेकर्ड मेडिको–लिगल शाखाका प्रमुख मनोज देवका
अनुसार पहिचान नखुलेका कारण शव व्यवस्थापन हुन सकेको छैन । यसले सेवा प्रवाहमै असर पर्न थालेको उनको भनाई छ ।
पोष्टमार्टम कक्षभित्र रहेको डिपफ्रिजमा शव राखिएको भए पनि हाल थप शव राख्ने कुनै ठाउँ बाँकी नरहेको उनले जानकारी दिए । विद्युत आपूर्ति अवरुद्ध हुँदा डिपफ्रिज काम नगर्ने र त्यसले अस्पताल परिसरमै दुर्गन्ध फैलिने समस्या दोहोरिने गरेको चिकित्सकहरू बताउँछन् ।

अस्पतालमा राखिएका शव सदरमुकाम राजविराजसहित कञ्चनरुप नगरपालिका तथा विष्णुपुर र रुपनी गाउँपालिकाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला परेका थिए । विभिन्न मितिमा भेटिएका ती शवहरूको हालसम्म सनाखत हुन नसक्दा पोष्टमार्टम कक्षमै राखिरहनुपरेको हो ।
विवरणअनुसार कञ्चनरुप नगरपालिकाका फरक-फरक स्थानबाट दुई पुरुष र एक महिलाको शव भेटिएको थियो । यस्तै, विष्णुपुर गाउँपालिका-७ बाट एक पुरुष, रुपनी गाउँपालिकाबाट एक पुरुष, राजविराज नगरपालिका-६ बाट एक पुरुष, राजविराज–१४ बाट एक बालिका र राजविराज नगरपालिका-४ बाट एक बालिकाको शव फेला परेको थियो ।

भेटिएका सबै शव प्रहरीले पोष्टमार्टमका लागि अस्पताल ल्याएको भए पनि पहिचान नखुलेका कारण कसैले लिन नआएपछि अस्पतालमै राखिएको छ । प्रचलित व्यवस्थाअनुसार बेवारिसे शव भेटिएको सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्नुपर्ने भए पनि ती पालिकाहरूले कुनै चासो नदेखाएको अस्पतालको भनाइ छ ।

अस्पताल प्रशासनले शव भेटिएका स्थानीय तहदेखि प्रमुख जिल्ला अधिकारीसम्म पटक–पटक जानकारी गराएर व्यवस्थापनका लागि आग्रह गरे पनि हालसम्म कुनै पहल नहुँदा समस्या झन जटिल बन्दै गएको देवको भनाइ छ । अब थप कुनै शव आएमा राख्ने ठाउँ नै नरहेको भन्दै अस्पतालले तत्काल समाधान खोजिनुपर्ने आवश्यकता औंल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *