सामाजिक फीड, १९ माघ । छिमेकी देश भारतको पश्चिम बंगाल र केरला लगायतका क्षेत्रमा निपा भाइरस (Nipah Virus) को संक्रमण देखिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार निपा भाइरस अत्यन्त घातक जुनोटिक भाइरस हो, जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्छ।
निपा भाइरस के हो?
निपा भाइरस जनावरबाट मानिसमा सर्ने (Zoonotic) भाइरस हो। यसको प्राकृतिक स्रोत फलफूल खाने चमेरो (Pteropus species) हुन्। संक्रमित जनावर, दूषित खाना वा संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कबाट यो मानिसमा सर्न सक्छ।
भाइरसको इतिहास
निपा भाइरस पहिलो पटक सन् १९९८ मा मलेसियाको ‘सुङ्गाई निपा’ क्षेत्रमा सुँगुर फार्मका कामदारहरूमा देखिएको थियो। सुरुमा जापानी इन्सेफलाइटिस ठानिए पनि पछि नयाँ भाइरस भएको पुष्टि भयो। संक्रमण नियन्त्रण गर्न त्यतिबेला १० लाखभन्दा बढी सुँगुर नष्ट गरिएका थिए।
कसरी सर्छ?
निपा भाइरस निम्न माध्यमबाट फैलिन सक्छ:
- जनावरबाट मानिसमा: चमेराले टोकेका वा लतपतिएका फलफूल खाँदा, वा संक्रमित सुँगुरको सम्पर्कमा आउँदा
- दूषित खाना: खजुरको काँचो रस (तारी) (Raw Date Palm Sap) जस्ता पदार्थ सेवन गर्दा
- मानिसबाट मानिसमा: संक्रमित व्यक्तिको थुक, रगत, पिसाब वा शारीरिक सम्पर्कबाट, विशेष गरी अस्पतालमा
कुन-कुन देशमा देखिएको छ?
WHO का अनुसार निपा भाइरसका प्रकोप निम्न देशहरूमा देखिएका छन्:
- मलेसिया (१९९८)
- सिंगापुर (१९९९)
- बंगलादेश (२००१ देखि हालसम्म प्रायः हरेक वर्ष)
- भारत (पश्चिम बंगाल र केरला-२००१ देखि २०२६ सम्म पटक-पटक)
- फिलिपिन्स (२०१४)
नेपालको अवस्था
नेपालमा हालसम्म निपा भाइरसको मानव संक्रमण पुष्टि नभए पनि विभिन्न अध्ययनहरूले नेपालमा पाइने चमेरोमा यो भाइरस रहेको देखाएका छन्। खुला सिमाना र भारतमा हाल देखिएको संक्रमणका कारण कोशी र मधेश प्रदेश विशेष जोखिममा रहेको विज्ञहरूको भनाइ छ।
किन निपा भाइरस खतरनाक छ?
अत्यन्त उच्च मृत्युदर
हालसम्म खोप वा निश्चित उपचार छैन
४ देखि ४५ दिनसम्म लक्षण नदेखिन सक्ने, जसले संक्रमण फैलिन सहज बनाउँछ
मुख्य लक्षणहरू
- अचानक उच्च ज्वरो र टाउको दुखाइ
- श्वासप्रश्वासमा समस्या
- खोकी, मांसपेशी दुखाइ
- गम्भीर अवस्थामा मस्तिष्क सुन्निने (Encephalitis) र बेहोस हुने
कसरी बच्ने?
- चमेरो वा जनावरले टोकेका फलफूल नखाने
- खजुरको काँचो रस, ताडी जस्ता पदार्थ सेवन नगर्ने
- फलफूल राम्ररी पखालेर वा ताछेर मात्र खाने
- बिरामी व्यक्तिको सम्पर्कमा जाँदा मास्क र पन्जा प्रयोग गर्ने
- साबुनपानीले नियमित हात धुने
स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयले ज्वरो, श्वास फेर्न गाह्रो हुने वा स्नायुसम्बन्धी लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ। खुला सिमाना र क्षेत्रीय संक्रमणलाई ध्यानमा राख्दै सतर्कता अपनाउनु अहिलेको आवश्यकता भएको मन्त्रालयले जनाएको छ।