सामाजिक फीड-
जनकपुरधाम, माघ १९ गते ।
मधेसमा पहिलोपटक आमाको नामका आधारमा नागरिकता प्रदान गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–७ का राम मनोहर गुप्तालाई आमाको नामको आधारमा अंगीकृत नागरिकता प्रदान गरिएको हो । नेपाल नागरिकता ऐन, २०६३ मा गरिएको दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनले दिएको कानुनी व्यवस्थाअनुसार बाबु विदेशी र आमा नेपाली नागरिक भएको अवस्थामा नागरिकता दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले उनलाई नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। आमाको पहिचानका आधारमा नागरिकता वितरण गरिएको यो घटना मधेस प्रदेशमै पहिलोपटक भएको प्रशासनको दाबी छ।
प्रमुख जिल्ला अधिकारी कडरियाका अनुसार यसअघि कानुनको अस्पष्टता र प्रक्रियागत झन्झटका कारण बाबुको पहिचान नखुलेको वा बाबु विदेशी भएका व्यक्तिहरूले नागरिकता पाउन कठिनाइ भोग्दै आएका थिए। तर पछिल्लो कानुनी संशोधनपछि भने आमाको नागरिकता प्रमाण, वडा कार्यालयको सिफारिस र आवश्यक कागजात पूरा भएमा नागरिकता प्रदान गर्न सकिने स्पष्ट आधार बनेको छ।