सामाजिक फीड-
जनकपुरधाम, माघ १९ गते ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका मधेस प्रदेशको
उम्मेदवारहरूमध्ये करिब एक चौथाइले मात्र स्नातक वा सोभन्दा माथिल्लो तहको शिक्षा हासिल गरेको पाइएको छ ।
फागुन २१ गते हुन लागेको निर्वाचनका लागि मधेस प्रदेशका ८ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा १ हजार २७ जना उम्मेदवार मैदानमा छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार तीमध्ये २६६ जना मात्र स्नातक वा सोभन्दा बढी शिक्षित छन्।
निर्वाचन प्रक्रियामा उम्मेदवारले आफ्नो शैक्षिक योग्यता अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भए पनि निरक्षरदेखि विद्यावारिधिसम्मका उम्मेदवार चुनावी मैदानमा देखिएका छन् । केही उम्मेदवारको शैक्षिक विवरण भने आयोगको प्रणालीमै खाली छ।
स्नातक वा सोभन्दा बढी अध्ययन गरेका उम्मेदवारमध्ये १८५ जना विभिन्न राजनीतिक दलबाट र ८१ जना स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। राजनीतिक दलहरूमध्ये जनता समाजवादी पार्टी (जसपा) नेपाल ले सबैभन्दा धेरै शिक्षित उम्मेदवार अघि सारेको छ। जसपाबाट २१ जना उम्मेदवार स्नातक वा सोभन्दा माथिल्लो शिक्षाका छन्।
यसपछि नेपाली कांग्रेसका १९ जना, नेकपाका १८ जना, जनमत पार्टीका १७ जना, राष्ट्रिय स्वतन्त्र पार्टीका १६ जना र उज्यालो नेपाल पार्टीका १५ जना उम्मेदवार स्नातक वा सोभन्दा बढी अध्ययन गरेका छन्। नेकपा एमालेले ३२ मध्ये १४ निर्वाचन क्षेत्रमा मात्रै यस्तो शैक्षिक योग्यता भएका उम्मेदवार उठाएको छ।
अन्य दलहरूको सहभागिता पनि छरिएर देखिन्छ। आम जनता पार्टीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका ८, प्रगतिशील लोकतान्त्रिक पार्टीका ६ उम्मेदवार स्नातक वा सोभन्दा बढी शिक्षित छन् भने केही साना दलहरूले एक–दुई जनासम्म मात्र यस्ता उम्मेदवार उठाएका छन्।
यसैबीच एक दर्जनजति उम्मेदवारले भने विद्यावारिधि अर्थात पिएअचडी गरेको आयोगले जनाएको छ । आयोगमा प्रविष्ट विवरण अनुसार ३२ ११ जना उम्मेदवारले पिएअचडी गरेका छन्।
पिएचडी गरेका उम्मेदवारहरू सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र पर्सा जिल्लाका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन्। जनमत पार्टी, जसपा नेपाल, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका उम्मेदवारहरू यस सूचीमा पर्छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशमा ५ वर्ष वा सोभन्दा माथिको जनसंख्या ५४ लाखभन्दा बढी छ। तीमध्ये ३६।५ प्रतिशत जनसंख्या निरक्षर रहेको तथ्यांकले देखाउँछ। उच्च शिक्षा हासिल गर्नेको अनुपात भने केवल ३ प्रतिशत मात्र छ।
निर्वाचन क्षेत्रअनुसार हेर्दा वीरगञ्ज महानगरपालिका समेटिएको पर्सा–१ मा सबैभन्दा धेरै, ७।५ प्रतिशत जनसंख्याले उच्च शिक्षा हासिल गरेका छन्। यसपछि धनुषा–३ र सप्तरी–२ पर्छन्। विपरीत रूपमा, रौतहट–२ मा उच्च शिक्षा हासिल गर्ने जनसंख्या सबैभन्दा कम, १।१ प्रतिशत मात्र छ। यसै कारण मधेस प्रदेशको सामाजिक–शैक्षिक संरचनाको प्रतिबिम्ब उम्मेदवारको सूचीमा पनि देखिएको छ। जनसंख्या स्तरमै उच्च शिक्षा हासिल गर्नेको संख्या कम हुँदा चुनावी प्रतिस्पर्धामा पनि स्नातक र विद्यावारिधि उम्मेदवार अल्पसंख्यक बनेका हुन्।