Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, माघ १८ गते ।

देशव्यापी नवप्रवर्तन अभियानलाई थप गति दिँदै ‘कोड फर इम्प्याक्टः यूएस–नेपाल टेक इनोभेसन ह्याकाथन’ को जनकपुर संस्करण सम्पन्न भएको छ । बुटवलबाट जनवरी १८–१९ मा सुरु भएको यो ह्याकाथन श्रृंखलाले यसअघि गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशमा सफलतापूर्वक आफ्ना संस्करण सम्पन्न गरिसकेको छ ।  मधेश र कर्णाली प्रदेशमा समानान्तर कार्यक्रम आयोजना गरिएको थियो ।

यस श्रृंखलाको आगामी संस्करण बागमती प्रदेशमा हुने जनाइएको छ ।
जनकपुरमा आयोजित ह्याकाथनमा मधेश प्रदेशभरिका युवा नवप्रवर्तकहरू दुई दिनसम्म प्रविधिमार्फत समाजका वास्तविक समस्याको समाधान खोज्न जुटेका थिए ।

सहभागी टोलीहरूले स्वास्थ्य, शिक्षा र कृषि जस्ता प्राथमिक क्षेत्रलाई केन्द्रमा राखी नवीन समाधानहरू विकास गरेका थिए । उनीहरूलाई नेपालको प्राविधिक क्षेत्रका अनुभवी मेन्टरहरूले मार्गदर्शन गरेका थिए । ह्याकाथनले तत्कालीन समाधानभन्दा पनि दीर्घकालीन सोच, सहकार्य, सिकाइ र मानवीय आवश्यकतामा आधारित डिजाइनलाई प्राथमिकता दिएको जनाएको छ।

शनिबार समापन समारोहमा कृषि क्षेत्रमा रहेका पुराना चुनौतीहरूलाई किसान–केन्द्रित प्रविधिबाट समाधान गर्ने दुई टोली प्रादेशिक विजेता तथा सेमिफाइनलिस्टका रूपमा चयन भएका छन् ।


अमेरिकी दूतावास नेपाल, आद्यन्त एडभाइजरी, एमचाम नेपाल र आद्यन्त फण्ड म्यानेजमेन्टको साझेदारीमा सञ्चालित यो छ महिनाको राष्ट्रिय पहलले सातै प्रदेशका करिब १७५ युवा नवप्रवर्तकलाई ह्याकाथन, मेन्टरशिप र लगानीका अवसरसँग जोड्ने लक्ष्य राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *