सामाजिक फीड-
जकपुरधाम, माघ १८ गते ।
भारत सरकारले नेपाललाई दिँदै आएको वार्षिक अनुदान रकम बढाएको छ । आइतबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले त्यहाँको संसद्मा पेस गरेको आर्थिक वर्ष सन् २०२६–२७ को केन्द्रीय बजेटमा नेपालका लागि गत वर्षभन्दा एक सय करोड थप्दै आठ सय करोड भारु अर्थात १२ अर्ब ८० करोड नेपाली रुपैयाँ विनियोजन गरेको हो ।
भारतले आर्थिक पुनरुत्थानको चरणमा रहेका मुलुकलाई सहयोग पुर्याउने उद्देश्यले नेपाल, भुटान, श्रीलंकालगायत देशमा अनुदान बढाएको छ ।
भारतले नेपाललाई दिने अनुदानमा केही वर्षदेखि उतारचढाव देखिएको छ । भारतले आर्थिक वर्ष २०२४–२५ मा नेपालका लागि ११।२ अर्ब भारु विनियोजन गरेको थियो भने २०२३–२४ मा ८।८ अर्ब भारु विनियोजन गरेको थियो ।
सन् २०२२–२३ मा सुरुमा नेपाललाई १२ अर्ब भारु अनुदान दिनेभनेपनि पछि त्यसलाई परिमार्जन गरेर ६।८ अर्ब भारु दिइएको थियो ।
सन २०२१–२२ मा ७।१३ अर्ब भारु अनुदान उपलब्ध गराएको थियो ।
भारतले सबैभन्दा बढी अनुदान दिने मुलुकमा भुटान यथावत् छ । भुटानलाई ६ प्रतिशतले अनुदान बढाएर २,२८९ करोड भारु पुर्याइएको छ । यस्तै, श्रीलंकालाई ४०० करोड, अफगानिस्तानका लागि १५० करोड भारु छुट्ट्याइएको छ । बंगलादेशसँगको द्विपक्षीय सम्बन्धमा तनाव आएपछि त्यहाँको अनुदान १२० करोडबाट घटाएर ६० करोड भारुमा सीमित गरिएको छ ।
यस्तै, माल्दिभ्सलाई घटाएर ५५० करोड, मोरिससलाई बढाएर ५५० करोड पुर्याइएको छ । यस्तै, म्यानमारलाई दिने अनुदानमा कटौती गरी ३०० करोड, अफ्रिकी देशहरूलाई २२५ करोड, ल्याटिन अमेरिकालाई अनुदान दोब्बरले बढाएर १२० करोड भारु पुर्याइएको छ ।