Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जकपुरधाम, माघ १८ गते ।

सर्लाहीमा सवारी दुर्घटनामा परेर चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छ । यस्तै, उक्त दुर्घटनामा परेर १९० जना गम्भीर घाइते भएका छन् ।
यस अवधिमा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक साहका अनुसार जिल्लाका भित्री सडकखण्डमा धेरै दुर्घटना हुने गरेको पाइएको छ ।
६ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाएका सवारी कारबाहीबाट ४८ लाख २८ हजार ५०२ राजस्व सङ्कलन भएको छ । चालक अनुमतिपत्र नभएका, हेलमेट नलगाएका मोटरसाइकल चालक, यात्रा अनुमतिपत्र नभएका, क्षमताभन्दा धेरै सामान बोकेका ट्रकलगायतलाई कारबाही गरिएको प्रहरी निरीक्षक साहले बताए । पूर्वपश्चिम राजमार्ग तथा भित्री सडकखण्डमा समेत विभिन्न समयमा जाँच गरी ट्राफिक नियम उल्लङ्घन गरेर चलाएका सवारीलाई कारबाही गरिएको थियो ।

प्रहरीले लामो दूरीका यात्रुवाहक बसमा दुई जना चालक अनिवार्य गरिएको विषयमा कडाइका साथ जाँच गर्ने गरेको छ । चालु आवको छ महिनामा सात हजार २७ वटा लामो दूरीको यात्रुवाहक बस जाँचका क्रममा २२ वटाले नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको प्रहरी निरीक्षक साहको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *