सामाजिक फीड-
जकपुरधाम, माघ १८ गते ।
प्रतिनिधि सभाको चुनाव नजिकिँदै जाँदा मधेश प्रदेशभर सुरक्षा संयन्त्रलाई हाइ एलर्ट्मा राखिएको छ । निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउने उद्देश्यसहित प्रदेशका सबै जिल्लामा व्यापक सुरक्षा योजना लागू गरिएको हो । प्रदेशभर तीन तहको सुरक्षा व्यवस्थासँगै अतिसंवेदनशील मतदानस्थलमा आधुनिक प्रविधि प्रयोग गर्दै ड्रोन र सीसी क्यामरामार्फत निगरानी बढाइएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा कुल दुई हजार १६० मतदानस्थल र चार हजार ४७१ मतदान केन्द्र रहेका छन् । तीमध्ये झन्डै ५७ प्रतिशत मतदान केन्द्रलाई अतिसंवेदनशील श्रेणीमा राखिएको छ । बाँकी मतदान केन्द्रलाई संवेदनशील र सामान्य श्रेणीमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा जनशक्ति र साधन परिचालन गरिएको छ ।
प्रदेश प्रहरीका अनुसार मतदानस्थलको वर्गीकरण गर्दा मतदाताको संख्यात्मक चाप, क्षेत्रको सामाजिक तथा सांस्कृतिक अवस्था, विगतमा भएका निर्वाचनसम्बन्धी घटनाक्रम, भौगोलिक जटिलता, स्थानीय जनमानसको मनोविज्ञान र राजनीतिक गतिविधिलगायत पक्षलाई आधार बनाइएको हो । सो मूल्यांकनका आधारमा प्रदेशभर एक हजार २३७ मतदानस्थल र दुई हजार ६१३ मतदान केन्द्र अतिसंवेदनशील, ७६३ मतदानस्थल र एक हजार ५५४ मतदान केन्द्र संवेदनशील तथा १६० मतदानस्थल र ३०४ मतदान केन्द्रलाई सामान्य श्रेणीमा राखिएको छ ।
खुला सीमा र अघिल्ला निर्वाचनमा देखिएका घटनाका कारण मधेश प्रदेशमा निर्वाचन सुरक्षा चुनौतीपूर्ण बन्दै गएको सुरक्षा निकायको आकलन छ । भारतसँग जोडिएको करिब ४६४ किलोमिटर लामो खुला सीमाका कारण अवैध आवतजावत, दोहोरो मतदाता बन्ने प्रयास तथा अन्य अवाञ्छित गतिविधिले निर्वाचन सुरक्षामा जोखिम बढाउने गरेको निष्कर्ष निकालिएको छ । यही अवस्थालाई ध्यानमा राख्दै संवेदनशील र अतिसंवेदनशील मतदानस्थलमा सुरक्षा घनत्व थप कडा बनाइएको छ ।
निर्वाचन सुरक्षाका लागि मधेश प्रदेशभर ठूलो संख्यामा सुरक्षा जनशक्ति परिचालनको तयारी गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच समन्वय गर्दै बहुपरत सुरक्षा घेरा निर्माण गरिएको जनाइएको छ । प्रदेशभर १२ हजार ६०० नेपाल प्रहरी र २८ हजारभन्दा बढी निर्वाचन सुरक्षाकर्मी परिचालन हुने तयारी छ । साथै आवश्यकता अनुसार सशस्त्र प्रहरी बल र नेपाली सेनाले पनि सक्रिय भूमिका निर्वाह गर्नेछन् ।
सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिबासले पनि निर्वाचन सुरक्षालाई प्राथमिकतामा राखेर तयारी तीव्र पारेको छ । प्रदेशका आठै जिल्लामा चार हजारभन्दा बढी सशस्त्र प्रहरी र करिब तीन हजार निर्वाचन सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका कार्यालय, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन सुरक्षा बेस, मोबाइल टोली, स्ट्राइकिङ टोली र रिजर्भ फोर्समार्फत सुरक्षा व्यवस्थापन गरिएको छ ।
सीमा पारिबाट आउन सक्ने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न भारतका समकक्षी सुरक्षा निकायसँग नियमित समन्वय र सुरक्षा बैठक भइरहेको छ ।
सुरक्षा निकायका अनुसार यस्ता समन्वयात्मक प्रयास, प्रविधिको प्रयोग र व्यापक सुरक्षा परिचालनले मधेश प्रदेशमा प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र विश्वासिलो बनाउने अपेक्षा गरिएको छ ।