सामाजिक फीड-
जनकपुरधाम, माघ १६ गते ।
महोत्तरीका विभिन्न स्थानमा लुटपाट, चोरी तथा लागुऔषध कारोबारमा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गौशाला नगरपालिका–१२ का विशेश्वर सिंहमाथि बुधबार राति धारिलो फलामे हतियार प्रयोग गरी आक्रमण गर्दै मोटरसाइकल र मोबाइल लुट्ने तीन जनालाई प्रहरीले लुटिएको मोटरसाइकलसहित बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
आक्रमणमा घाइते भएका सिंहको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ज ५ प ४३२४ नम्बरको डिस्कभर मोटरसाइकल लुटेको आरोपमा गौशाला–१२ का १८ वर्षीय निर्मल साह, १८ वर्षीय नितेश कुमार कुशवाहा र १८ वर्षीय मनिष रामलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जना यसअघि पनि पटक–पटक लुटपाट तथा लागुऔषधसम्बन्धी मुद्दामा संलग्न रहेको खुलेको छ। उनीहरूले सुनसान घर, सडक र बजार क्षेत्रलाई लक्षित गरी घरेलु हतियार प्रयोग गरेर आक्रमण तथा लुटपाट गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
गौशाला क्षेत्रमा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्दै गएकाले पक्राउ परेका व्यक्तिहरूसँग चोरीमा संलग्न अन्य व्यक्तिहरूको बारेमा पनि सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाले बताए।