सामाजिक फीड-
जनकपुरधाम, माघ १४ गते ।
नक्कली नोटसहित रौतहटमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सितामढी पर्सौनीका ४२ वर्षीय राकेशकुमार साह र सितामढी सिभवर परिषद् ४ का ३० वर्षीय विक्रमकुमार पासवान रहेको सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर बिष्टले जानकारी दिए ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरले नक्कली जस्तो देखिने दुई हजार पाँच सय भारतीय रुपियाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।
गौर नगरपालिका २ महादेवपट्टीस्थित सीमा इलाकामा खटिएको चेकप्वाइन्ट टोलीले बि आर ३० ए एफ ५७३१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउदै गरेका दुबै जनालाई चेकजाँच गर्दा ५ सय दरको नक्कली जस्तो देखिने नोट १ थान र २ सय दरको नक्कली जस्तो देखिने नोट १० थान बरामद गरेको हो ।
पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको छ ।