माघ, १४
सामाजिक फीड, जनकपुरधाम ।
प्रसिद्ध बलिउड गायक अर्जित सिंहले अब नयाँ फिल्मी गीत (प्लेब्याक सिङ्गिङ) का असाइनमेन्ट नलिने घोषणा गरेका छन्। तुम ही हो, केसरिया र चन्ना मेरेया जस्ता चर्चित गीतका आवाज अर्जितले यो निर्णय सुनाएपछि उनका फ्यानहरू भावुक बनेका छन्।

इन्स्टाग्राम र फेसबुक मार्फत नयाँ वर्षको सन्देश दिँदै उनले लेखेका छन् कि प्लेब्याक गायनको यात्रा अद्भुत भए पनि अब त्यस अध्यायलाई बन्द गर्ने समय आएको छ। तर उनले संगीत नै छोड्ने भने होइनन् भन्ने कुरा प्रस्ट पारेका छन्।
उनका अनुसार यो निर्णय एउटै कारणले नभई धेरै कारणले गरिएको हो। उनले आफू चाँडै बोर हुने स्वभावको भएको बताउँदै नयाँ किसिमको संगीत खोज्न चाहेको उल्लेख गरेका छन्। साथै नयाँ पुस्ताका गायकहरूलाई उदाउँदै गरेको देख्न पनि आफू उत्साहित रहेको उनले बताएका छन्।
अर्जित अब फेरि भारतीय शास्त्रीय सङ्गीत सिक्न र सिर्जना गर्न फर्किने तयारीमा छन्। उनले भनेका छन्, “म फेरि सुरुवात गर्न चाहन्छु, सिक्न चाहन्छु, र सानो कलाकारको रूपमा आफ्नै संगीत बनाउन चाहन्छु।”
उनले आफ्ना बाँकी प्रतिबद्ध कामहरू भने पूरा गर्ने र यस वर्ष केही नयाँ रिलिजहरू आउन सक्ने पनि स्पष्ट पारेका छन्। “म संगीत बनाउन कहिल्यै रोकिँदिन,” भन्दै उनले फ्यानहरूलाई आश्वस्त पारेका छन्।
अर्जितको यो निर्णयले बलिउड संगीत क्षेत्रमा ठूलो हलचल ल्याएको छ, तर उनका समर्थकहरू अब उनलाई नयाँ संगीत यात्रामा पनि साथ दिने अपेक्षा गरिएको छ।
राजन शर्मा सामाजिक फीडका संवाददाता हून् ।