सामजिक फीड-
जनकपुरधाम, माघ ११ गते ।
मधेश प्रदेशमा रिक्त रहेका चार राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचनबाट नेपाली काँग्रेसका दुईसहित चार जना उम्मेदवार निर्वाचित भएका छन्। महिला, अपाङ्ग तथा अल्पसंख्यक, दलित र अन्य क्लस्टरबाट सदस्य निर्वाचित भएका हुन् ।
महिला क्लस्टरबाट नेकपा (एमाले) की उम्मेदवार रेखा झा विजयी भएकी छन् । उनले ७ हजार २२२ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा की शमी कुमारी अग्रवालले १ हजार ९४४ मतभार पाइन् । जनता समाजवादी पार्टी (जसपा) की उम्मेदवार चन्द्रकला देवी साह ३२२ मतभारमै सीमित भइन् ।
अपाङ्ग तथा अल्पसंख्यक क्लस्टरबाट रञ्जित कर्ण निर्वाचित भएका छन् । उनले ८ हजार ९३ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपाका रामानन्द प्रसादले १ हजार ३६१ मतभार पाए भने जसपाका शैलेश कुमार चौधरीले २०९ मतभार प्राप्त गरे ।
दलित क्लस्टरबाट नेपाली काँग्रेसका धर्मेन्द्र पासवान निर्वाचित भएका छन्। उनले ७ हजार ९०४ मतभार प्राप्त गर्दा नेकपाका उम्मेदवार सम्भु पासवानले १ हजार ३७६ र जसपाकी चमेली देवी दासले २०९ मतभार पाइन् ।
अन्य क्लस्टरअन्तर्गत जनता समाजवादी पार्टी (जसपा) मा समाहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् । उनले ७ हजार ७२५ मतभारसहित राष्ट्रिय सभामा स्थान सुरक्षित गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका लक्ष्मण पौडेलले १ हजार ८०५ मतभार प्राप्त गरे ।
मधेश प्रदेशका चार सिटका लागि नेकपा एमाले, नेपाली काँग्रेस र जसपा नेपालबीच गठबन्धन भएको थियो, जसलाई जनमत पार्टीले समेत समर्थन गरेको थियो । जसपाले गठबन्धनलाई निष्क्रिय बनाउने भनिए पनि आफ्ना तीन उम्मेदवार उठाएको थियो र उनीहरूले केही मतसमेत प्राप्त गरेका छन् ।
यस निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भने एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो ।