सामाजिक फीड-
जनकपुरधाम, माघ ११ गते ।
राष्ट्रिय सभा निर्वाचन: मधेसमा ११ बजे सम्म १६३ जनाले गरे मतदान जनकपुरधाम राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा बिहान ११ बजेसम्म १६३ जनाले मतदान गरेका छन्। रिक्त हुन लागेको चार सिटका लागि मधेस प्रदेशमा निर्वाचन हुँदैछ ।
निर्वाचन अधिकृत शुभाषबाबु पुरीका अनुसार बिहान ११ बजेसम्ममा मतदान गर्नेहरूमा १०८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख र ५५ जना प्रदेशसभा सदस्य रहेका छन्। आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने मतदानमा १ सय जना प्रदेशसभा सदस्य र २६४ जना स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता रहेका छन्। चार सिटका लागि कुल ११ जना उम्मेदवार रहेकामा जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन जना उम्मेदवारलाई निस्क्रिय पारेको छ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सबै सिटमा एक्लै उम्मेदवारी दर्ता गराएको छ भने नेकपा एमाले, नेपाली कांग्रेस र जसपा नेपालले गठबन्धनमार्फत उम्मेदवार खडा गरेका छन्। जनमत पार्टीले भने कुनै उम्मेदवार खडा गरेको छैन। निर्वाचन अन्य, महिला, दलित र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहमा भइरहेको छ।
अन्य समूहमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार रहेका छन्। उम्मेदवारी अघि लोसपा र जसपा नेपालबीच एकता गर्ने निर्णय भए पनि हाल दुबै पार्टीबीच एकता भइसकेको छ। महिला समूहमा जसपा नेपालकी चन्द्रकला देवी साह, नेकपा एमालेकी रेखा कुमारी झा र नेकपाकी शमी कुमारी अग्रवाल उम्मेदवार छन्।
दलित समूहमा जसपा नेपालकी चमेली देवी दास, नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार रहेका छन्। यस्तै, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, नेपाली कांग्रेसका रञ्जित कर्ण र जसपा नेपालका शैलेश कुमार चौधरी उम्मेदवार रहेका छन्।