Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १० गते ।

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय सभामा मधेस प्रदेशबाट रिक्त रहेका चार सिटका लागि भोलि (माघ ११ गते आइतबार) निर्वाचन हुन लागेको हो ।

मतदान अधिकृतको कार्यालयका अनुसार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा मतदान केन्द्र तोकिएको छ ।
प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखका लागि छुट्टा–छुट्टै मतदान केन्द्रको व्यवस्था मिलाइएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ । निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार अन्य, महिला, दलित तथा अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूह गरी चार सिटमा निर्वाचन हुँदैछ, जसका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसपा नेपालले आफ्ना तीन उम्मेदवारको उम्मेदवारी निष्क्रिय बनाए पनि उनीहरूको नाम मतपत्रमा भने कायम रहनेछ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चारवटै समूहमा उम्मेदवारी दिएको छ। जसपा नेपालले ३, नेपाली कांग्रेसले २ तथा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले १–१ सिटमा उम्मेदवारी दिएका छन् ।

लोसपा र जसपा नेपालबीच सहकार्य भएपछि उम्मेदवारी दर्ता गराएका तीन जनाको नाम निष्क्रिय पारिएको हो ।
महिला समूहमा जसपा नेपालकी चन्द्रकलादेवी साह, नेकपा एमालेकी रेखाकुमारी झा र नेकपाकी शमीकुमारी अग्रवाल उम्मेदवार छन् ।

दलित समूहमा जसपा नेपालकी चमेलीदेवी दास, नेपाली कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी उम्मेदवार छन् । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदाय समूहमा नेकपाका रामनन्दन प्रसाद, कांग्रेसका रन्जित कर्ण र जसपा नेपालका शैलेशकुमार चौधरी उम्मेदवार रहेका छन् ।
अन्य समूहमा लोसपाका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल उम्मेदवार छन् ।

मधेश प्रदेशमा १०० जना प्रदेशसभा सदस्य र २६४ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३६४ जना मतदाता छन् ।
मधेस प्रदेशमा १३ सिट रहेको जनमत पार्टीले यस निर्वाचनमा उम्मेदवार दिएको छैन । अहिलेसम्म कुनै गठबन्धनमा सहभागी नभएको जनमत पार्टीले कसलाई मतदान गर्ने भन्ने विषय खुलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *