सामाजिक फीड-
जनकपुरधाम,माघ ८ गते ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी जिल्लामा दलगत उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारको संख्या बढी देखिएको छ। जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रमा गरी ८८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
जिल्लाका चार निर्वाचन क्षेत्रबाट दलगत उम्मेदवारी दिने संख्या भने ५५ जनामात्र रहेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा १२ जना, क्षेत्र नम्बर २ र ३ मा समान १५–१५ जना तथा क्षेत्र नम्बर ४ मा १३ जना दलगत उम्मेदवार रहेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवारमध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र नम्बर ३ मा २७ जना छन्। यस्तै, क्षेत्र नम्बर ४ मा २४ जना, क्षेत्र नम्बर २ मा २२ जना र क्षेत्र नम्बर १ मा १५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
यसैबीच, जिल्लामा कुल १९ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये १० जना स्वतन्त्र उम्मेदवार रहेको जानकारी सहायक निर्वाचन अधिकृत भरतमणि पोखरेलले दिएका छन्।
निर्वाचन क्षेत्रगत रूपमा हेर्दा क्षेत्र नम्बर १ मा पाँच, क्षेत्र नम्बर २ मा पाँच, क्षेत्र नम्बर ३ मा दुई र क्षेत्र नम्बर ४ मा सात जना महिला उम्मेदवार रहेका छन्।