सामाजिक फीड-
जनकपुरधाम,माघ ७ गते ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्ष तर्फ ५८३ जना युवाले उम्मेदवारी दिएका छन् ।
प्रत्यक्षबाट निर्वाचित हुने १६५ सदस्यका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईले जनाएका हुन् ।
कुल उम्मेदवारमध्ये महिलाको संख्या ३९५ र पुरुषको संख्या ३ हजार ८८ रहेको छ ।
उमेर समूह अनुसार ३६ देखि ५० वर्षका उम्मेदवार बढी छन् । ३६ वर्षदेखि ५० वर्षसम्मको उमेर समूहका १ हजार ६१० जना उम्मेदवार रहेका छन् । यो समूहमा महिला उम्मेदवारको संख्या २३५ र पुरुष उम्मेदवारको संख्या १ हजार ३७५ जना रहेको छ ।
आयोगका अनुसार २५ देखि ३५ वर्ष उमेर समूहका उम्मेदवारको संख्या ५८३ छ । यो समूहमा महिलाको संख्या ६७ र पुरुष उम्मेदवारको संख्या ५१५ रहेको छ ।
यस्तै, ५१ देखि ६५ वर्षसम्मका १ हजार ९० जना उम्मेदवार रहेको छ । यो उमेर समूहमा ९० जना महिला र १ हजार पुरुष उम्मेदवार रहेको छ ।
६५ वर्ष माथिका उम्मेदवारको संख्या २०१ जना रहेको छ । यो उमेर समूहमा ३ जना महिला र १९८ जना पुरुष उम्मेदवार रहेको छ । आयोगका अनुसार ६८ वटा दलले निर्वाचनमा उम्मेदवार उठाएका छन् ।