सामाजिक फीड-
जनकपुरधाम,माघ ६ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तिम समयमा आएर आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गरेका छन्। लामो समयदेखि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा रहेका यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उक्त क्षेत्र नछाड्ने अडान लिएपछि पछि हटेका हुन्।
राउतको अडानपछि यादव अब सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा उत्रने निश्चित भएको छ। उपेन्द्र यादव र सीके राउतबीचको राजनीतिक प्रतिस्पर्धा पुरानै हो।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यादवले सप्तरी-२ बाट विजय हासिल गरेका थिए। तर २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष राउतसँग उनी फराकिलो मतान्तरले पराजित भएका थिए। त्यसपछि बारा-२ मा भएको उपनिर्वाचनमार्फत यादव पुनः संसद् प्रवेश गरेका थिए।
यसपटक सप्तरी-२ बाटै चुनाव लडेर पुरानो हारको बदला लिने रणनीतिमा रहेका यादव राउतले मैदान नछाड्ने भएपछि बाध्य भएर क्षेत्र नम्बर ३ मा सरेका हुन्।
यादवको चुनावी इतिहास हेर्दा उनले २०६४ सालदेखि हालसम्म हरेक निर्वाचनमा निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएको देखिन्छ। उनले कुनै पनि निर्वाचन क्षेत्रबाट दोहोर्याएर चुनाव जितेको इतिहास छैन। एक पटक जितेको क्षेत्र छाडेर अर्को नयाँ क्षेत्र रोज्ने उनको पुरानै शैली यसपटक पनि दोहोरिएको छ।
सप्तरी-३ मा आफू सुरक्षित भएपछि जसपाले सप्तरी-२ बाट उमेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपा परित्याग गरी केही समयअघि मात्र जसपामा प्रवेश गरेका उमेश यादवलाई पार्टीले टिकट दिएको हो। रोचक पक्ष के छ भने, २०७४ सालको निर्वाचनमा यिनै उमेश यादव उपेन्द्र यादवसँग सप्तरी-२ बाट पराजित भएका थिए। २०७९ मा प्रदेशसभा सदस्यमा समेत पराजित भएका उमेशलाई यसपटक जसपाले पुनः विश्वास गरेको छ।
सप्तरी-२ को चुनावी प्रतिस्पर्धा यतिमा मात्र सीमित रहने छैन। मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिश सिंह पनि यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने भएका छन्। उनले जनमत पार्टी र प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर स्वाभिमान पार्टीबाट उम्मेदवारी दिने तयारी गरेका छन्।
एकातिर सीके राउत, अर्कोतिर जसपाका उमेश यादव र पूर्व मुख्यमन्त्री सतिश सिंहको उम्मेदवारीले सप्तरी-२ को चुनावी समीकरण थप पेचिलो बन्ने देखिएको छ।