सामाजिक फीड-
जनकपुरधाम, माघ ३ गते ।
मोरङको लेटाङ नगरपालिका क्षेत्रभित्र “सडक अनुशासन तथा सवारी सुरक्षा अभियान–२०८२” सुरु भएको छ ।
इलाका प्रहरी कार्यालय, लेटाङले माघ १ गतेदेखि माघ १० गतेसम्मको लागि सञ्चालन गरेको अभियानमा सडक सुरक्षा सम्बन्धि ठाउँबाट संकेतसहितको होडिङ्बोर्ड, पर्चा वितरण, सचेतना कक्षा, चम्किलो स्टिकर टास्ने लगायतको काम गरिने जनाएको छ ।
सडक दुर्घटना न्यूनीकरण, नागरिकको जीवन सुरक्षा सुनिश्चितता तथा सडक अनुशासन र ट्राफिक नियम पालनाको संस्कारलाई सुदृढ रूपमा प्रवर्द्धन गर्ने उद्देश्य अभियान सञ्चालन गरेको इलाका प्रहरी कार्यालय, लेटाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक सागर साहले बताए ।
लेटाङ नगरपालिका, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी संघ तथा विभिन्न संघ–संस्था सहितका सरोकारवाला निकायहरुको सहकार्यमा अभियान सञ्चालन गरिएको हो ।
अभियानमार्फत लेटाङ नगरपालिका क्षेत्रभित्र सडक सुरक्षासम्बन्धी न्यूनतम आवश्यक तथा आधारभूत संरचना र सामग्रीहरूको उपलब्धता तथा सुनिश्चितता गरिने प्रहरी निरीक्षक साहको भनाइ छ ।

अभियान उदघाटन गर्दै लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र लावतीले सडक सुरक्षा सम्बन्धि व्यापक र एकीकृत अभियान लेटाङ नगरपालिकाको इतिहासमै पहिलो पटक योजनाबद्ध रूपमा अभियान सञ्चालन गरिएको बताए ।
अभियान अवधिभर विभिन्न जनचेतनामूलक कार्यक्रम, ट्राफिक नियमसम्बन्धी प्रचार–प्रसार, सडक सुरक्षासम्बन्धी सामग्रीहरूको व्यवस्थापन तथा सरोकारवाला निकायहरूबीच समन्वयात्मक गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ।