सामाजिक फीड-
जनकपुरधाम, माघ १ गते ।
तराई-मधेसमा ‘तिला सङ्क्रान्ति’ को रूपमा विशेष महत्वका साथ मनाइने माघे सङ्क्रान्ति आज देशभर धार्मिक आस्था, स्नान, दान र पारम्परिक परिकारसहित मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने आजको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ भने यही दिनबाट सूर्य उत्तरायण लाग्ने धार्मिक मान्यता छ।
माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिन क्रमशः लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ। यस अवसरमा स्नान, जप, तप, ध्यान, व्रत तथा दान गरे पुण्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ। यही विश्वासका कारण आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका नदी तथा तीर्थस्थलमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। धेरै स्थानमा माघे सङ्क्रान्तिको अवसरमा विशेष मेला पनि आयोजना गरिएको छ।
तराई–मधेसमा माघ १ लाई ‘नहान’ अर्थात् अनिवार्य स्नान गर्ने पर्वका रूपमा मनाइन्छ। वर्षभर नियमित रूपमा स्नान गर्न कठिन हुने क्षेत्रका बासिन्दाले पनि आज भने नदी, पोखरी वा जलाशयमा गई स्नान गर्नैपर्ने धार्मिक मान्यता राख्छन्। आज स्नान गरी तिल दान गर्दा सुन दान गरेसरह पुण्य मिल्ने विश्वास छ।
धर्मशास्त्रअनुसार माघ १ गते घ्यू, चाकु, तिलका परिकार, खिचडी खानु, दान गर्नु, जलाशयमा स्नान गर्नु तथा ध्यान गर्नु अत्यन्त आवश्यक मानिन्छ। धर्मशास्त्रविद् प्रा। तोयराज नेपालका अनुसार धर्मसिन्धु ग्रन्थमा यी कर्म नगर्ने व्यक्ति दीर्घकालीन रोगी हुने उल्लेख गरिएको छ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिल, तरुल, पालुङ्गो, खिचडीलगायत परिकार खाने चलन छ। चिसो मौसममा शरीरलाई न्यानो राख्ने यी परिकारले त्रिदोष नाश गर्ने आयुर्वेदिक मान्यता रहेको चिकित्सकहरू बताउँछन्। पुसको अन्तिम दिन पकाएर माघमा खाने तरुलको परम्परालाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानले पनि जनाउँछ।
आजका दिन तिलको तेलले शरीरमा मालिस गर्दा शरीरका दूषित तत्व बाहिर निस्कने र नाडी, स्नायु तथा हड्डी मजबुत हुने विश्वास पनि प्रचलित छ। धार्मिक मान्यताअनुसार सूर्य उत्तरायणपछिको मृत्यु उत्तम मानिन्छ। महाभारतकालीन भीष्म पितामहले पनि सूर्य उत्तरायणपछि नै देह त्यागेको कथन प्रचलित छ।
माघे सङ्क्रान्तिका अवसरमा भक्तपुरको तिलमाधव नारायणस्थानलगायत विभिन्न शक्तिपीठ र मन्दिर क्षेत्रमा पनि मेला लाग्ने गर्दछ। यसैगरी माघ महिनाभर माघमाहात्म्यको विशेष महत्व रहन्छ। स्कन्द पुराणअन्तर्गत स्वस्थानी व्रतकथा पौष शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म चल्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष पुस १९ गतेदेखि स्वस्थानी व्रत सुरु भइसकेको छ।
माघे सङ्क्रान्तिको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउँदैछ। माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो।