सामाजिक फीड-
जनकपुरधाम, पुस ३०गते ।
नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको मागलाई सम्बोधन गर्न संस्थापन पक्ष तयार नभएपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको छ।
यसैबीच, विशेष महाधिवेशन पक्षले सभापतिमा गगन थापालाई चयन गर्ने प्रक्रिया अघि बढाएको छ। देउवाको नेतृत्वमा चुनावमा जान नसकिने भन्दै विशेष महाधिवेशन पक्षधर नेताहरूले लामो समयदेखि नेतृत्व परिवर्तनको माग गर्दै आएका थिए। तर सभापति देउवा पद छोड्न तयार नभएपछि अन्ततः पार्टी विभाजनको अवस्थामा पुगेको हो।
कांग्रेसभित्र रुपान्तरण चाहने र यथास्थितिवादी धारबीचको संघर्ष अब विभाजनको तहसम्म पुगेको विश्लेषण गरिएको छ। केन्द्रीय समितिले थापा लगायत नेताहरूलाई अनुशासन उल्लंघनको अभियोग लगाउँदै कारबाही गरेपछि विवाद झन चर्किएको हो।
पार्टीबाट निष्कासनको घोषणा भएपछि गगन थापाले नेपाली कांग्रेस कसैको निजी कम्पनी नभएको प्रतिक्रिया दिएका छन्। “यो मैले इतिहास बनाएको, आन्दोलन हाँकेको पार्टी हो,” थापाले भने।
देउवा पक्षले चुनाव नजिकिएको अवस्थामा विशेष महाधिवेशन गर्न नसकिने अडान राख्दै आएको थियो। केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनका लागि वैशाख अन्तिम साता मिति समेत तय गरिसकेको थियो। तर पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले यसअघि नै विशेष महाधिवेशनको माग गरिसकेका थिए।
नियमित महाधिवेशनको मिति तय भइसकेपछि विशेष महाधिवेशन हुन नसक्ने भन्दै संस्थापन पक्ष अडिग रहँदा विशेष महाधिवेशन पक्षधरहरूले भने विधानमा व्यवस्था भएकाले यसलाई बेवास्ता गर्न नहुने दाबी गर्दै आएका थिए।
विशेष महाधिवेशन बोलाउन पुस २८ भित्र दिएको निवेदनको समयसीमा सकिन लागेपछि जसरी पनि महाधिवेशन गर्ने अडान उनीहरूले लिए, र सोहीअनुसार प्रक्रिया अघि बढाइयो। महाधिवेशन चलिरहेकै बेला पार्टीलाई विभाजनबाट जोगाउन पटक-पटक वार्ताका प्रयास पनि भए। दुवै पक्षले वार्ता टोली बनाएर सन्देश आदानप्रदान गरे तापनि अडान नछोड्दा अन्ततः नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको हो।