सामाजिक फीड-
जनकपुरधाम, पुस २९ गते ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले इजाजत लिएर राखिएका सबै हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै सबै हातियार अनिवार्य रुपमा बुझाउन आग्रह गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना निकाल्दै जिल्लाभित्र रहेका सबै हातहतियार धनीलाई सूचना जारी भएको मितिदेखि १५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा हातहतियार बुझाउन आग्रह गरेको हो।
निर्वाचनको समयमा सुरक्षा समस्या नआओस् भनेर यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनका अनुसार बुझाइएका हातहतियारहरू निर्वाचन सकिएपछि सम्बन्धित व्यक्तिलाई फिर्ता गरिनेछ।
तोकेको समयभित्र हातहतियार नबुझाएमा कानुनअनुसार हातहतियार जफत गरी कारबाही गरिने चेतावनी पनि दिइएको छ।