Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २८ गते ।

मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार रहेका ११ जनाले निर्वाचन चिन्ह पाएका छन् । दलीय हिसाबले चार पदका लागि उम्मेदवार रहेका ११ जना उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो ।

महिला समूहमा नेकपा एमालेका रेखा कुमारी झा, नेपाली कम्युनिष्ट पार्टीकी शमी कुमारी अग्रवाल र जनता समाजवादी पार्टी नेपालकी चन्द्र कला देवी उम्मेदवार छिन् ।

दलित समूहमा नेपाली काँग्रेसका धर्मेन्द्र पासवान, नेपाली कम्युनिष्ट पार्टीका शम्भु पासवान, जनता समाजवादी पार्टी नेपालकी चमेली देवी दास, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकमा नेपाली काँग्रेसका रञ्जित कर्ण, नेपाली कम्युनिष्ट पार्टीका रामानन्द प्रसाद र जनता समाजवादी पार्टी नेपालका शैलेश कुमार चौधरी उम्मेदवार छन् ।

यस्तै, अन्य समूहमा नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मण पौडेल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर छन् । सबै उम्मेदवारलाई पार्टीकै चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।

समयमा उम्मेदवारी फिर्ता लिन नसकेपछि जसपा नेपालले आफ्ना तीन उम्मेदवारलाई निष्क्रिय पार्ने आइतबार नै निर्णय गरेको थियो ।

माघ ११ गते जनकपुरधामका महेन्द्र नारायण निधि मिथिला साँस्कृतिक भवनमा मतदान हुन्छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *