सामाजिक फीड-
जनकपुरधाम, पुस २८ गते ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्।
वरिष्ठ नेताको हैसियतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभन्दा दुई दिनअघि मेयर पदबाट राजीनामा दिने तयारी गरेको बालेनको सचिवालयका एक सदस्यले जानकारी दिएका छन्। निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता माघ ६ गते तोकिएको छ।
रास्वपाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गरिसकेको छ।
यसैबीच मेयर बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै झापा-५ बाट उम्मेदवारी दिने तयारी पनि गरिरहेका छन्। यस सम्बन्धमा उनले आइतबार झापाका नेताहरूसँग करिब डेढ घन्टा छलफल गरेका थिए।
ललितपुर-१० ज्वागलस्थित आफ्ना सचिवालय सदस्य कुमार बेनको निवासमा भएको उक्त भेटमा रास्वपा झापा अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरालगायतको टोलीसँग कुराकानी भएको हो।
रास्वपा झापा अध्यक्ष पाठकका अनुसार छलफलका क्रममा मेयर बालेनले आफू झापा-५ बाट निर्वाचन लड्ने निष्कर्षमा पुगिसकेको बताएका थिए। साथै, उनले आफ्नो टिमले झापाको वस्तुस्थिति, विकास निर्माणको अवस्था तथा पुराना राजनीतिक दलहरूको गतिविधिबारे सामान्य सर्वेक्षणसमेत गरिसकेको जानकारी गराएका थिए।
झापा-५ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत हो। ओली यस क्षेत्रबाट लगातार निर्वाचन जित्दै आएका छन्। यद्यपि, २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी तत्कालीन माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।