Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम, पुस २४ गते ।

तराई–मधेश क्षेत्रमा भूमिगत जलको सतह निरन्तर घट्दै गएको एक अध्ययनले देखाएको छ । मधेश प्रदेश सरकारको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, वेल्ट हङ्गर हिल्फे र सबल नेपालको आयोजनामा बुधबार कर्जन्हा र गोलबजार क्षेत्रमा गरिएको भूमिगत जल अनुगमन तथा पुनर्भरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो ।

अनुसन्धानकर्ता प्रतापसिंह तातेरका अनुसार प्राकृतिक पुनर्भरण क्षेत्रहरू नष्ट हुँदै जानु र भूमिगत जलको अनियन्त्रित दोहन नै जलसतह घट्नुका प्रमुख कारण हुन् । अध्ययनले चुरे क्षेत्र र नहरबाट संकलित पानीले भूमिगत जल पुनर्भरणमा महत्वपूर्ण भूमिका खेलेको जनाएको छ ।

अध्ययनमा कम लागतमा निर्माण गर्न सकिने पुनर्भरण इनार, पुराना पोखरीहरूको पुनर्जीवन तथा कृत्रिम पुनर्भरण प्रविधि अपनाए भूमिगत जलस्रोत स्थिर राख्न सकिने उल्लेख छ । साथै, गोलबजारको भावर क्षेत्र र कर्जन्हाको कमला नदी आसपासलाई उच्च सम्भावना भएका पुनर्भरण क्षेत्रका रूपमा पहिचान गरिएको छ ।

अध्ययनले भू–जल मानवजन्य गतिविधिका कारण प्रदूषणप्रति संवेदनशील बन्दै गएको र कतिपय स्थानमा आर्सेनिकयुक्त पानी प्रयोग गर्न नागरिक बाध्य भएको तथ्य पनि उजागर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *