सामाजिक फीड-
जनकपुरधाम, पुस २४ गते ।
प्रहरीले पर्साको पोखरिया क्षेत्रबाट लागूऔषध चरेससहित दुई जना पक्राउ गरेको छ ।
बिहीबार बिहान इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिन्दवासिनी गाउँपालिका–२ अन्तर्गत गर्दील चोकदेखि पूर्व पोखरिया–वीरगन्ज सडक खण्डमा चेकजाँचका क्रममा दुबै जनालाई पक्राउ गरेको हो ।
प्रहरीले वीरगन्ज महानगरपालिका १५ मुडली बस्ने २० वर्षीय रैयस अली र पोखरिया नगरपालिका ८ जगतपुर बस्ने ५५ वर्षीय मुनिलाल पटेललाई पक्राउ गरेको हो ।
उनीहरूले बोकेको झोला शङ्कास्पद देखिएपछि जाँच गर्दा झोलाभित्र पानी खाने १० लिटरका ग्यालन भेटिएका थिए । ग्यालनको मुखमा घिउ राखी तल लुकाएर राखिएको अवस्थामा चरेस फेला परेको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार जाँचका क्रममा रैयस अलीले बोकेको ग्यालनबाट १० किलो ६०० ग्राम र मुनिलाल पटेलले बोकेको ग्यालनबाट ११ किलो ४०० ग्राम चरेस जस्तो पदार्थ बरामद गरिएको छ ।
यस्तै, उनीहरूको साथबाट नगद ४ हजार ४ सय ५० रुपैयाँ र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।