सामाजिक फीड-
जनकपुरधाम, पुस २१ गते ।
सर्लाहीको कौडेना गाउँपालिका-३ स्थित पर्सा पोखरी नजिक हुलाकी सडकखण्डमा सोमबार दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। उक्त दुर्घटनामा संलग्न एक मोटरसाइकलबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।
बीआर ३० एफ १४६९ र बीआर ०६ सिएन ७४४२ नम्बरका मोटरसाइकल ठोक्किँदा बीआर ३० एफ १४६९ नम्बरको मोटरसाइकल चालक मलंगवा नगरपालिका-७ का ३८ वर्षीय हरदास यादव र उनका ७० वर्षीय बुवा अमिन्द्र राय यादव घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।
दुर्घटनालगत्तै बीआर ०६ सिएन ७४४२ नम्बरको मोटरसाइकल चालक फरार भएका थिए। प्रहरीले घटनास्थलमै छाडिएको उक्त मोटरसाइकलको सिटमुनि लुकाइराखिएको ४ किलो ७१० ग्राम गाँजा बरामद गरेको हो।
पछि फरार रहेका मोटरसाइकल चालक कौडेना गाउँपालिका-१ का रवीन्द्र गिरीलाई प्रहरीले मलंगवा नगरपालिका–१० बाट पैदल हिँडिरहेको अवस्थामा पक्राउ गरेको छ। लागूऔषध ओसारपसार तथा सवारी दुर्घटनासम्बन्धी कसुरमा पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।