Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २० गते ।

नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलमा आवद्ध मन्त्रीहरूलाई प्रधानमन्त्री शुशिला कार्कीले बर्खास्त गर्नुपर्ने बताएका छन्।

आइतबार जनकपुरधाम स्थित आफ्नो निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासेठले अहिलेको सरकार चुनावी सरकार मात्र भएकाले राजनीतिक दलमा सक्रिय मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्ने बताए। उनीहरूले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाइ छ। यस्तो कदम चालिए मात्र सरकार निर्वाचन गराउन गम्भीर छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकमा पैदा हुने उनले बताए।

महासेठले फागुन २१ गते निर्वाचन हुने विषयमा आशंका व्यक्त गर्दै चुनावी सरकारमा रहेका मन्त्रीहरू नैतिकताविपरीत राजनीतिक गतिविधिमा संलग्न रहेको आरोप लगाए। “चुनावी सरकारमा गएका मन्त्रीहरू पार्टी बनाउने, प्रधानमन्त्री र मन्त्री बन्ने सपना देख्दै राजनीतिक क्रियाकलापमा सक्रिय छन्,” उनले भने, “अहिलेसम्मका अन्तरिम सरकारहरू सफल भएका छन्, तर यो सरकारप्रति आशंका छ।”

उनले एमाले, कांग्रेसलगायतका दल संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालत गएको बताउँदै चुनाव भएमा भाग लिने स्पष्ट पारे।
महासेठले सरकार गैरराजनीतिक क्रियाकलापमा केन्द्रित भएको आरोप लगाउँदै चुनाव गराउनै हो भने तत्काल नेताहरूको स्थानहद हटाउनुपर्ने बताए। “नेताहरूलाई काठमाडौंमै थन्काएर चुनाव हुन्छ रु” उनले प्रश्न गरे।
साथै उनले बाह्य शक्तिले गठबन्धनको नाममा कहिल्यै जनताको बीचमा नआएका, विभिन्न मुद्दामा मुछिएका गैरराजनीतिक व्यक्तिहरूलाई अघि सारेर स्थापित राजनीतिक दलहरूलाई विस्थापित गर्न खोजिएको आरोप पनि लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *