सामाजिक फीड-
जनकपुरधाम, पुस १६ गते ।
स्रोत नखुलेको १० लाख भन्दा बढी रुपैयाँसहित जनकपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी एकडारा गाउँपालिका–४ का स्थायी बासिन्दा ३५ वर्षीय रंजित कुमार साह छन् ।
उनी जनकपुरधाम उपमहानगरपालिका–४ स्थित माछा बजार स्थित किरणदेवी ठाकुरको घरमा डेरा गरी बस्दै आएको धनुषा प्रहरीले जनाएको छ ।
जल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बहादुर बमका अनुसार साहको डेराबाट स्रोत नखुलेको १० लाख ३ हजार ८ सय ५ रुपैयाँ बरामद गरिएको छ ।
विशेष सुराकीको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषा मातहत रहेको जिरोमाइल प्रहरी चौकीबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार दिउँसो कोठामा छापेमारी गरेको थियो । कोठाबाट नगदसँगै विभिन्न कम्पनीको ३ थान मोबाइल, रुपैयाँ गणना गर्ने एक थान मेसिन नियन्त्रणमा लिएको डिएसपी बमले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ ।