सामाजिक फीड-
जनकपुरधाम, पुस १५ गते ।
भारत विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको छ । जापानलाई उछिनेर भारत चौथो ठूलो अर्थतन्त्र भएको मुलुक बनेको हो । भारतको कुल ग्राहस्थ उत्पादन ४।१८ ट्रिलियन डलर बराबर पुगेको सरकारी तथ्याङ्हरुले देखाएका छन् ।
जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको भारत आगामी तीन वर्षभित्र जर्मनीलाई उछिनेर तेस्रो अर्थतन्त्र बन्ने आशा पनि सरकारी अधिकारीहरुले व्यक्त गरेका छन् ।
यद्यपी सबै देशहरूको आधिकारिक अवस्था सन् २०२६ मा वैश्विक वार्षिक कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० तथ्याङ्क सार्वजनिक भएपछि मात्र उजागर हुनेछ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले भारतको अर्थतन्त्रले अर्को वर्ष जापानलाई पार गर्ने अनुमान गरेको हो ।
सन् २०३० सम्ममा भारतको जिडिपी ७।३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । गत अगस्टमा वासिङ्टनले भारतको रुसी तेल खरिदमा भन्सार शुल्क लगाए पनि नयाँदिल्लीले आफ्नो विकास गतिलाई कायम राखेको देखिएको छ ।
यसलाई सरकारले ‘विश्वव्यापी व्यापार अनिश्चितताबीचको लचिलोपन’ को सङ्केतका रूपमा व्याख्या गरेको हो । तर अन्य आर्थिक सूचकहरूले चुनौती पनि देखाएका छन् । भारत जनसङ्ख्याको दृष्टिले सन् २०२३ मा चीनलाई उछिनेर सबैभन्दा बढी जनसङ्ख्याको राष्ट्र बन्यो ।
विश्व बैंकको तथ्याङ्कअनुसार सन् २०२४ मा भारतको प्रतिव्यक्ति जिडिपी दुई हजार ६९४ डलर मात्र थियो । जुन जापानको ३२ हजार ४८७ डलर र जर्मनीको ५६ हजार १०३ डलरभन्दा निकै कम छ ।
भारतको सरकारी तथ्याङ्क अनुसार एक अर्ब ४० करोड जनसङ्ख्यामध्ये करिब एक चौथाइ १०–२६ वर्ष उमेर समूहका छन् ।