सामाजिक फीड-
जनकपुरधाम, पुस १४ गते ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता हुने भएको छ। दुई दलबीच आजै एकताको औपचारिक घोषणा हुने तयारी गरिएको छ।
एकताका लागि जसपातर्फबाट उपाध्यक्ष रेणु यादवले पहल गरेकी छन्। अध्यक्ष अशोक राई भने हालसम्म एकताका विषयमा पूर्ण रूपमा सहमत भइनसके पनि उपाध्यक्ष यादव पक्षले राईसँग निरन्तर संवाद गरिरहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार सम्भव भएसम्म अशोक राईलाई पनि साथमा लिएर एकताको घोषणा गर्ने तयारी छ। यदि राई सहमत नभएमा भने रेणु यादवको नेतृत्वमा जसपा नेपालसँग आजै एकताको घोषणा गरिने दाबी गरिएको छ।
उपाध्यक्ष यादव पक्षले आफूहरूसँग केन्द्रीय समितिमा बहुमत सदस्यको समर्थन रहेको दाबी गरेको छ। यसअघि जसपाका नेता राजेन्द्र श्रेष्ठ अलग भई नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरिसकेका छन्। बाँकी रहेका केन्द्रीय सदस्यलाई साथमा लिएर यादव पक्ष जसपा नेपालसँग एकता गर्न लागेको हो।
अध्यक्ष राई तयार नभए यादव पक्षधरहरूले जसपा नेपालसँग छुट्टै रूपमा एकताको घोषणा गर्ने जनाइएको छ। यसअघि आइतबार मात्रै महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबीच एकताका लागि सहमति भएको थियो।