Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस १३ गते ।

सिरहाको बरियारपट्टी गाउँपालिका–२ का दलित समुदायका सत्यनारायण साफीले मजदुरी गर्दै पढाइ जारी राख्दै एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । आर्थिक अभाव, पारिवारिक जिम्मेवारी र निरन्तर संघर्षका बीच उनले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको प्रवेश परीक्षामा सफलता हात पारेका हुन् ।

बरियारपट्टीको श्रीपुर गाउँमा बसोबास गर्ने साफीको परिवारसँग साढे चार धुर घडेरीबाहेक अन्य केही सम्पत्ति छैन । उनका बुबा मधुरी साफी तीन वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै मजदुरी गर्दै आएका छन् । परिवारमा आमा, तीन छोरी र दुई छोरा छन् ।
सत्यनारायणले २०७७ सालमा गाउँकै जनता माध्यमिक ९प्राविधिक० विद्यालयबाट एसईई उत्तीर्ण गरेका थिए । त्यसपछि २०७९ सालमा विराटनगरस्थित अरनिको स्कुलबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरे । उच्च शिक्षाका लागि एमबीबीएस पढ्ने लक्ष्यसहित २०८० सालमा काठमाडौं गए पनि आर्थिक अभावका कारण दुई महिनामै गाउँ फर्किन बाध्य भए ।

गाउँ फर्किएपछि उनले आमाबुबासँगै निर्माण क्षेत्रमा मजदुरी गर्दै अध्ययनलाई निरन्तरता दिए । दुई वर्षसम्म मजदुरीबाट आएको आम्दानीबाट पढाइ सामग्री जुटाउँदै उनले स्वध्ययन गरे । यही क्रममा उनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दोस्रो पटक दिँदै छात्रवृत्तिमा नाम निकाल्न सफल भए ।
यसै महिना आमा सुनिताले छिमेकीसँग ८० हजार रुपैयाँ सापटी लिएर ८ पुसमा सत्यनारायणलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा भर्ना गराएकी हुन् । भर्ना शुल्कबापत करिब ६४ हजार रुपैयाँ खर्च भएको परिवारले जनाएको छ ।

छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाए पनि बसोबास, खानपान, यातायात र अध्ययन सामग्रीमा ठूलो खर्च लाग्ने भएकाले परिवार चिन्तामा छ । अनुमानअनुसार सम्पूर्ण अध्ययन अवधि पूरा गर्न करिब १५ लाख रुपैयाँ आवश्यक पर्ने देखिन्छ । दैनिक ज्यालादारी मजदुरीमै निर्भर परिवारका लागि यो खर्च जुटाउनु चुनौतीपूर्ण बनेको छ ।

सत्यनारायणको सफलतापछि गाउँमा बधाई दिन आउनेहरूको संख्या बढेको छ । केहीले आर्थिक सहयोग गरेका छन् भने केहीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यद्यपि दीर्घकालीन रूपमा अध्ययन सहज बनाउन सरकारी तहबाट सहयोग आवश्यक रहेको परिवारजनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *