Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस १३ गते ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्नुपर्ने बताए ।

उनले दलले आज र भोलिसम्म पेस गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने बताए ।
पुस २० गतेसम्म बन्द सूची छानबिन गरेपछि आयोगले पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ ।
आयोगले पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने जनाएको छ । आयोगले माघ ४ गते बन्द सूची प्रकाश गर्नेछ ।

प्रवक्ता भट्टराईले माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि जानकारी दिए ।
समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र बन्द सूचीतर्फका उम्मेदवारको सूची पेस गर्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *