सामाजिक फीड-
जनकपुरधाम, पुष ९ गते ।
पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित ३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगले गैरकानुनी लाभ वा हानि पुर्याइ भ्रष्टाचार गरेको आरोपमा मुस्तफासहित नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साह र जन प्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्पादक संजयकुमार साहविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगले आर्थिक वर्ष २०८०–८१ मा स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत बैरिया प्रवेशद्वारदेखि नगरदाहासम्म सडक कालोपत्र गर्न खरिद ठेक्का लगाउँदा आपसी मिलेमतोमा ठेक्का लुकाएर नजिकको मान्छेलाई ठेक्का दिएर उनीहरूले भ्रष्टाचार गरेको दावी गरेको छ ।
पत्रिकाले २०८० साल चैत २५ गते बोलपत्र आह्वान भएको सूचना एक प्रतिमा मात्र प्रकाशित गरेको, तर प्रेस काउन्सिलको अभिलेखमा राखिएको उक्त दिनको पत्रिकाको हार्डकपी र पीडीएफ दुवैमा बोलपत्रको सूचना प्रकाशन नभएको पाइएको छ ।
बोलपत्रको सूचना पत्रिकामा प्रकाशित नै नगरी झुट्टा बिल, भरपाइ पेस गरी ६५ हजार रुपैयाँ भुक्तानी लिएको अख्तियारको आरोपपत्रमा छ ।
आयोगले तीनै जनाविरुद्ध त्यति नै रकम बराबरको बिगो दाबी सहित मुद्दा दायर गरेको हो ।